Paul Shah

‘महाराजधिराज’ बाट अचानक बाहिरिए अभिनेता पल शाह

८ महिनापछि सम्झौता तोडियो

काठमाडौं – निर्माणको तयारीमा रहेको चलचित्र ‘महाराजधिराज‘ बाट अभिनेता पल शाह अचानक बाहिरिएका छन् । करिब आठ महिनाअघि उनले चलचित्रसँग गरेको सम्झौता आजबाट औपचारिक रूपमा अन्त्य गरिएको निर्माण पक्षले जनाएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टका तर्फबाट निर्माण टोलीका प्रतिनिधि बिराज बिष्टले एक विज्ञप्ति जारी गर्दै दुवै पक्षको आपसी सहमतिमा सम्झौता तोडिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब यो विषयमा कुनैपनि कुराकानी हुने छैन, तेस्रो पक्षबाट उठ्ने प्रश्नहरूको जवाफ पनि दिइने छैन ।’

यदि भविष्यमा यस विषयलाई लिएर कुनै आर्थिक वा सामाजिक क्षति पुगेमा त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने सहमति पनि गरिएको उनले स्पष्ट पारेका छन् ।

चलचित्र ‘महाराजधिराज’ का लागि गत कात्तिक १४ गते पल शाहसँग औपचारिक सम्झौता गरिएको थियो । चलचित्रमा उनको फरक लुक्स सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा पाएको थियो, तर छायांकन भने सुरु हुन सकेको थिएन ।

यही बीचमा चलचित्रमा कलाकार थपिने क्रम जारी छ । आजमात्र अभिनेत्री उषा रजक अनुबन्धित भएकी छन् । यसअघि आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा शिवाकोटी, वर्षा राउत, र पुष्प खड्का लगायतको टिम फाइनल भइसकेको छ । उषाको अनुबन्धसँगै चलचित्रको मुख्य कलाकार टिम पूरा भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र चाँडै छायांकनमा जाने तयारीमा छ, तर पल शाहको बाहिरिएपछि उनको स्थानमा कसलाई ल्याइने भन्नेबारे निर्णय भइनसकेको बताइएको छ । यो चलचित्र आगामी फूलपातीको अवसरमा प्रदर्शन गर्ने योजना रहेको छ ।

Write a Comment

Your email address will not be published. Required fields are marked *